कुलमानले भने १० हजार मेगावाट बिजुलीबाट हरेक वर्ष ६ खर्ब रुपैयाँ कमाउने
२०८२ जेष्ठ २९, बिहीबार ०९:४०
सर्लाही — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा चर्चित ऊर्जा योजनाकार कुलमान घिसिङले नेपालले जलविद्युत निर्यातबाट ठूलो आर्थिक फाइदा लिन सक्ने स्पष्ट संकेत दिएका छन्।
उनले भारतलाई १० हजार मेगावाट विद्युत निर्यात गर्न सके नेपालले हरेक वर्ष झन्डै ६ देखि ७ खर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्ने दाबी गरेका छन्।
“१० हजार मेगावाट बिजुली भारतमा पठाउन सक्यौं भने, त्यो मात्रबाट हाम्रै GDP को १५–२० प्रतिशत हिस्सा आर्जन गर्न सकिन्छ,” घिसिङले बताए।
घिसिङका अनुसार, हाल नेपालको सकल गार्हस्थ्य उत्पादन (GDP) करिब ४५–५० खर्ब रुपैयाँ हाराहारीमा छ। त्यसमध्ये १५–२० प्रतिशत रकम यदि विद्युत निर्यातबाटै आउन थाल्यो भने, नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन सम्भव हुने उनी विश्वास गर्छन्।
उनले भने, “जलविद्युत मात्रै यस्तो क्षेत्र हो जहाँ हामीसँग प्राकृतिक स्रोत, भूगोल र बजार तीनैथरी सम्भावना छ। नीति, लगानी र इच्छाशक्तिले अब यो सपना साकार पार्न सक्छ।”
घिसिङले जलविद्युत उत्पादन बढेपछि देशभित्रै विद्युतीय सवारी साधन (EV) को प्रयोग समेत तीव्ररूपमा बढेको बताए। “आज काठमाडौं, भरतपुर, पोखरामा हजारौं सवारी साधन पेट्रोल होइन, बिजुलीमा गुडिरहेका छन्। यो परिवर्तन जलविद्युतकै देन हो,” उनले बताए।
भारतले पनि स्वच्छ ऊर्जा (Green Energy) मा लगानी बढाइरहेको सन्दर्भमा नेपालले सस्तो र हरित बिजुली उपलब्ध गराउनसक्ने उत्तम अवसर रहेको घिसिङको धारणा छ। उनले सीमापार प्रसारण लाइन निर्माण, दीर्घकालीन विद्युत व्यापार सम्झौता, र निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता औंल्याए।
कुलमान घिसिङको दृष्टिकोण केवल ऊर्जा कारोबारको पक्षमा सीमित छैन। यो नेपालको आर्थिक स्वतन्त्रता, रोजगारी सिर्जना, र भविष्यको आधार निर्माणसँग जोडिएको छ। उनले भने, “हामीले आँखा खोलेर हेर्नुपर्छ — पानी हामीसँग छ, बिजुली हामी बनाउन सक्छौं, छिमेकीलाई चाहिएको छ — अब कदम चाल्न बाँकी छ।”





