चीनले ११० दिनमै विश्वकै सबैभन्दा चौडा पानीमुनि सडक सुरुङ निर्माण गर्यो

बेइजिङ, असार ५,चीनले येलो रिभर (ह्वाङ्हो) नदीमुनि विश्वकै सबैभन्दा ठूलो व्यास (चौडाइ) भएको सडक सुरुङ केवल ११० दिनमा निर्माण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ।
शानडोङ प्रान्तको जिनान शहरमा निर्माण गरिएको उक्त सुरुङ १७ मिटर चौडो र ३.२ किलोमिटर लामो छ। सुरुङको निर्माणका लागि “शान्हे” नामक विशाल टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरिएको थियो, जसले प्रतिदिन १६ देखि १८ मिटरसम्म सुरुङ निर्माण गर्न सफल भएको बताइएको छ।
सुरुङ दुईतले हुनेछ, जसमा तीन–तीन लेनका सडक दुवै तर्फ रहनेछन्। सवारीसाधन ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्नेछ।
परियोजना सन् २०२५ को अन्त्यसम्म पूरा हुने लक्ष्य राखिएको छ। यस सुरुङले येलो रिभरको दुई किनारबीचको यातायात सजिलो बनाउने मात्र होइन, आपतकालीन उद्धार र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
चीनको द्रुत पूर्वाधार विकास र प्रविधिमा आत्मनिर्भरता देखाउने यो परियोजनाले विश्वभर ध्यान तानेको छ।