दैलेख, असार ५ — नेपालको पश्चिमी पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम भण्डारणबारे अब अनुमान होइन, वैज्ञानिक प्रमाण नै आएको छ। भूगर्भ वैज्ञानिकहरूको विस्तृत अध्ययनपछि यो क्षेत्रमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ रहेको औपचारिक पुष्टी भएको छ।

यस खजाना समान स्रोतको अन्तर्राष्ट्रिय बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर आँकिएको छ — जुन नेपाली रुपैयाँमा करिब ११,००० अर्ब जति पर्छ।

विज्ञहरूका अनुसार यो मात्रामा पेट्रोलियम भेटिनु नेपालको आर्थिक भविष्य नै बदल्न सक्ने सम्भावना भएको ऐतिहासिक खोज हो। यदि व्यावसायिक उत्पादन सुरु भयो भने, नेपाल ऊर्जा–आयातक देशबाट ऊर्जा-निर्यातक राष्ट्र बन्ने सम्भावनासम्म राख्न थालिएको छ।

विगत केही वर्षदेखि जलजले क्षेत्रमा भइरहेको भूगर्भ अध्ययन र अन्वेषणपछि वैज्ञानिक टोलीले विस्तृत नमुना विश्लेषण गरेको थियो। हालै प्राप्त रिपोर्टले पेट्रोलियमको गहिरो तहमा व्यापक मात्रामा रहेको प्रमाण दिएको छ।

स्रोत भेटिए पनि चुनौती भने अझै बाँकी छ। पूर्वाधार, प्रविधि, वातावरणीय अध्ययन र अन्तर्राष्ट्रिय साझेदारी बिना यसलाई उत्खनन गरेर प्रयोगमा ल्याउनु सहज छैन।

 यसबारे अझै धेरै प्रश्नहरू बाँकी छन्। तर यति ठूलो सम्भावनाले नेपालभित्र ऊर्जा–सम्पन्न भविष्यको परिकल्पना गर्न थालिएको छ।