रौतहट, मौलापुर – १०असार सम्पन्न मौलापुर नगरपालिकाको आर्थिक वर्षको २०८२/८३ बजेट अधिवेशनले मधेशकै राजनीतिक र विकासीय परिदृश्यमा नयाँ तरंग ल्याएको छ। जनप्रतिनिधि होइन, जनसेवक बन्ने प्रणसहित मेयर शिलासिंह राउतले प्रस्तुत गरेको बजेट भाषणले उपस्थित सभासद्, नागरिक र सामाजिक अभियन्तालाई भावुक बनायो।

 मुख्य आकर्षण : ‘शून्य कर’, ‘फ्री सेवा’ र ‘छोरीसँग मेयर’ यस वर्ष नगरले ‘शून्य कर नीति’ लागु गर्ने घोषणा गर्दै, नगरवासीलाई करको भारबाट मुक्त गराउने ऐतिहासिक निर्णय लिएको छ। साथसाथै, विपन्न घरपरिवारका लागि ‘फ्री बिजुली र पानी योजना’ लागू गरिने भएको छ।

एकअर्काे इनोभेटिभ कार्यक्रम ‘छोरीसँग मेयर’ मार्फत, छोरीको बिहेमा आर्थिक सहायता दिने निर्णयले बालिकामैत्री स्थानीय शासनको अनुकरणीय उदाहरण बनाएको छ।

 मौलापुरले स्वास्थ्य र प्रविधिलाई प्रशासनमा समेट्दै ‘नगरप्रहरी’को सट्टा ‘नगरडाक्टर’ र ‘नगरमास्टर’ जस्ता पदहरू सिर्जना गर्नेछ। यसले नगरवासीलाई स्वास्थ्य र प्राविधिक सेवा ढोका-द्वारमै पुर्‍याउनेछ।

 पूर्वाधार र सामाजिक न्यायमा कदम नगरले आफुलाई ‘कच्ची सडक मुक्त नगरपालिका’ घोषणा गर्दै पूर्वाधारमा विशेष ध्यान दिएको छ। साथै, दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ निर्माण गरी समावेशी विकासको मिसन अघि सारेको छ।

 सार्वजनिक विद्यालयमा निःशुल्क तर गुणस्तरीय शिक्षाको सुनिश्चितता, साथै मोडेल अस्पताल र कृषि–पशु अस्पताल स्थापना योजनाले शिक्षामा रूपान्तरण र स्वास्थ्यमा आत्मनिर्भरता ल्याउने संकेत दिएको छ।

 नगर मेयर शिलासिंह राउतले भनिन्: “यो बजेट कागजको योजना होइन, मौलापुरका आमनागरिकको सपना र संवेदना हो। हामी प्रतिवद्ध छौं– हरेक घरमा सेवा पुर्‍याउनेछौं, हरेक नागरिकसँग सहानुभूति हुनेछ।”


 मौलापुरको बजेट न केवल योजनामा जनमैत्री छ, यो मधेशको भविष्यको एक खाका पनि हो। जब स्थानीय सरकार जनता नजिक पुग्छ, तब प्रशासन संवेदनशिल बन्छ। मौलापुरले त्यही बाटो समातेको देखिन्छ।