विराटनगर,  कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि प्रतिवेदन अनुसार, २०८० पुस मसान्तको तुलनामा २०८१ पुससम्म कुल निक्षेप १२.३ प्रतिशतले बढेको छ।

रिपोर्टले देखाउँछ कि २०८१ असारदेखि पुससम्मको ६ महिनामा कुल निक्षेप परिचालन ३.०६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यो वृद्धिको पछाडि विप्रेषण प्रवाह, विद्युतीय कारोबारको बिस्तार, र बैंकिङ पहुँचमा सुधार मुख्य कारण रहेका छन्।

कृषि कर्जामा घट्दो रुचि, उद्योग र सेवामा बढ्दो लगानी

निकर्षमा विपरीत चित्र देखिएको छ। उक्त अवधिमा बैंकहरूले प्रवाह गर्ने कुल कर्जा १०.२ प्रतिशतले घटेर ५ खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ। विशेषतः कृषि कर्जा १०.८ प्रतिशतबाट झरेर ९.७ प्रतिशत मा सीमित भएको छ।

तर, औद्योगिक कर्जा २४.४ प्रतिशतबाट २५.२ प्रतिशतमा, र सेवा क्षेत्रको कर्जा ६४.८ प्रतिशतबाट ६५.१ प्रतिशतमा उक्लिएको छ। यद्यपि कुल कर्जा प्रवाह भने मात्र १.२ प्रतिशतले वृद्धि भएको छ।

२०८१ पुस मसान्तमा कोशी प्रदेशको कर्जा–निक्षेप अनुपात (CD Ratio) ११९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको पुसमा १२१.२ प्रतिशत थियो। यो अझै पनि सन्तुलित सीमाभन्दा माथि मानिन्छ।

वित्तीय पहुँचमा मोरङ अगाडि, ताप्लेजुङ पछि

प्रदेशभर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको संख्यामा मोरङ शीर्ष स्थानमा रहेको छ, जहाँ जम्मा ४५० शाखा क्रियाशील छन्। विपरीत ताप्लेजुङमा मात्र ३९ शाखा छन्। जसमा बाणिज्य बैंक ७६२ शाखा,विकास बैंक १९५ शाखा ,वित्त कम्पनी ३६ शाखा र लघुवित्त संस्था ८५३ शाखा रहेको छ ।