झापा – झापाको झापा गाउँपालिकाले सामाजिक न्याय, कृषक सशक्तिकरण र दिगो ऊर्जा उपयोगलाई एकैसाथ सम्बोधन गर्ने उल्लेखनीय निर्णयहरू ल्याएको छ। जनतामैत्री योजनासहित गाउँपालिकाले “जनताको ढोका–जनताको सेवा” भन्ने नारालाई व्यवहारमै उतार्ने प्रयास थालेको छ।

अब झापा गाउँपालिकाभित्रका सुत्केरी महिलाहरूले ९ हजार रुपैयाँ नगद सहयोग प्राप्त गर्नेछन्। यो सहयोग सुत्केरीपछिको पोषण, स्वास्थ्य र बालसुरक्षाको उद्देश्यले उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। मातृ–शिशु स्वास्थ्यप्रति पालिकाको प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो।

 झापा गाउँपालिकाले कृषिमा आधारित आम जनजीवनलाई सहज बनाउने रणनीतिक निर्णय गरेको छ। अब किसानले तिर्नुपर्ने सिँचाइ महसुलको ८० प्रतिशत रकम पालिकाले स्वयं भुक्तान गर्नेछ। यसले साना तथा सीमान्त किसानलाई उल्लेखनीय राहत दिनेछ भने उत्पादन लागत पनि घटाउने विश्वास गरिएको छ।

गाउँपालिकाले अब ७५ युनिटसम्मको मासिक विद्युत खपत हुने उपभोक्ताको बिल स्वयं भुक्तान गर्ने घोषणा गरेको छ। यसले गरीबी र न्यून आम्दानी भएका परिवारहरूलाई प्रत्यक्ष राहत मिल्नेछ।

झापा गाउँपालिकाको यो योजनाहरू हालै सार्वजनिक बजेट कार्यक्रमअन्तर्गत ल्याइएका हुन्। बजेटले समावेशी विकास, गरिबी निवारण र नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको छ ।

“जनताको खुशी नै हाम्रो लक्ष्य हो। सुत्केरी, किसान र सर्वसाधारणलाई राहत दिने योजनाले गाउँपालिकाको सुशासनप्रति विश्वास बढ्नेछ,”  गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले वताएकी छिन् ।