काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यही शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। 

उनले आगामी असार १६ देखि १९ गतेसम्म सेभिलमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमणलाई नेपालका लागि महत्वपूर्ण कूटनीतिक अवसरको रूपमा हेरिएको छ। सम्मेलनमा उनले कम विकसित मुलुकहरूको (LDCs) समूहको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय वित्तीय सहयोग, ऋण दिगोपनाको आवश्यकता, र दिगो विकासका लागि नयाँ संरचनात्मक सुधारहरूमा जोड दिनेछन्।

यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका उच्चस्तरीय नेताहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्। भ्रमणमा परराष्ट्र मन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार र सरकारी उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

सम्मेलनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), WTO लगायतका संस्थाहरूका प्रमुखहरूको पनि सहभागिता रहनेछ। सम्मेलनको मूल उद्देश्य एसडीजी लक्ष्य (दिगो विकास लक्ष्य) हासिल गर्न आवश्यक वित्तीय संरचना र सहकार्य निर्माणमा केन्द्रीत रहनेछ।

प्रधानमन्त्री ओलीले भ्रमण सम्पन्न गरी असार २१ गतेतिर नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।

 यो भ्रमणमार्फत नेपालले विश्वमञ्चमा आफ्नो उपस्थिति बलियो पार्ने र विकासका लागि अन्तर्राष्ट्रिय सहयोगमा थप प्रभावकारी पहुँच बनाउने अपेक्षा गरिएको छ।