नयाँ दिल्लीको आकाशबाट आशा झर्नेछ: भारतले वायु प्रदूषण हटाउन कृत्रिम वर्षाको तयारी गर्यो

नयाँ दिल्ली भारतको राजधानी नयाँ दिल्ली एकपटक फेरि धुवाँको मुस्लोमा बेरिएको छ। सास फेर्नै गाह्रो बनाउने प्रदूषणको चपेटामा परेको सहरले अब आकाशमै नजर लगाएको छ—तर योपटक बादल हेर्न होइन, वर्षा गराउन!
हो, दिल्लीले अब कृत्रिम वर्षा गर्ने भएको छ। धुलो, धुवाँ, र परालीको मुस्लोले भरिएको वातावरणलाई धुन वैज्ञानिकहरू तयार छन्। यसको लागि भारतले ‘क्लाउड सीडिङ’ नामक अत्याधुनिक प्रविधिको सहारा लिएको हो।
कृत्रिम वर्षा कुनै चमत्कार होइन, विज्ञानकै कमाल हो। बादलमा चाँदी आयोडाइड वा नुनका कणहरू विमानबाट छर्ने कार्य गरिन्छ। ती कणले बादलका थोपाहरूलाई भारी बनाएर वर्षा गराउँछन्। एकछिनमै धुलोले भरिएको आकाश सफा हुन्छ। स्वास लिन सकिने हावा फर्किन्छ।
दिल्लीका लाखौँ नागरिकका लागि यो आशाको वर्षा हुनेछ। गत वर्ष मात्रै प्रदूषणका कारण विद्यालय बन्द, निर्माण कार्य रोक, र स्वास्थ्य सन्त्रास फैलिएको थियो। यसपालि वैज्ञानिकहरूले भनेका छन्, “हामी प्रदूषणको प्रत्यक्ष उपचार गर्दैछौं, त्यो पनि आकाशबाट।”
कृत्रिम वर्षाको पूर्वाधार बनाउने काम IIT कानपुर र भारतीय मौसम विभाग (IMD) को सहकार्यमा भइरहेको छ। मौसम मिल्नासाथ विमान उड्नेछ र राजधानीमा कृत्रिम वर्षा गराइनेछ।
यो प्रक्रिया सस्तो छैन। एकपटकको वर्षामा लाखौँ भारतीय रुपैयाँ लाग्न सक्छ। तर विशेषज्ञहरू भन्छन् “स्वास्थ्यको मूल्य पैसाले जोख्न सकिन्न।”
तर सावधानी पनि उत्तिकै महत्त्वपूर्ण छ। क्लाउड सीडिङ गर्न बादल हुनु अनिवार्य छ। मौसम अनुकूल नभए वर्षा हुन सक्दैन। त्यसैले यो दीर्घकालीन समाधान होइन—तर विषालु हावामा केही राहत दिने उपाय भने अवश्य हुन्छ ।
जहाँ देशहरू प्रदूषणसँग युद्ध लड्दै छन्, भारतले आकाशमै हात हालेको छ। शायद अबको युद्ध गोलाबारुदले होइन, पानीका थोपा ले जितिनेछ। र यदि यो सफल भयो भने दक्षिण एशियाका अरू सहरहरूले पनि हेर्नेछन् दिल्लीतिर आशाका थोपा झर्ने आशामा।