प्रधानमन्त्री ओलीको घोषणा : कर्णाली करिडोर भारत–चीन व्यापारिक मार्गका रूपमा विकास हुँदै
२०८२ असार २३, सोमबार ०७:३२
हुम्ला, खार्पुनाथ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापार विस्तारको सेतु बनाइने स्पष्ट पारेका छन्।
खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा आज आयोजित विशेष समारोहमा बेलिब्रिज उद्घाटन गर्दै उनले करिडोरलाई दुई लेनको स्तरीय सडक बनाएर कालोपत्रे गरिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले भने, “कर्णाली करिडोर कर्णाली र हुम्लावासीका लागि मात्र होइन, यो नेपाल, भारत र चीनबीचको महत्त्वपूर्ण व्यापारिक मार्ग बन्नेछ। त्यसैले यसको स्तरोन्नति अपरिहार्य छ।”
उनले चुवाखोलामा बेलिब्रिजपछि छिट्टै पक्की पुलको निर्माण प्रारम्भ गरिने जानकारी दिँदै हुम्लाको सिमकोटलाई औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य पनि राखे।
प्रधानमन्त्रीका अनुसार कर्णाली क्षेत्रको भौगोलिक विकटता हटाउन यातायात पूर्वाधारमा तीव्र लगानी आवश्यक छ र सरकारले यसलाई प्राथमिकता दिएको छ।




