सुनचाँदी व्यवसायीको करिव ३ घण्टा विराटनगरमा धर्ना “विलासिता करले व्यवसाय मार्दैछ”
२०८२ असार २३, सोमबार १९:४०
विराटनगर, मोरङ ,सरकारले सुनचाँदी गहनामा लगाएको ‘विलासिता कर’ फिर्ता गर्नुपर्ने मागसहित मोरङका सुनचाँदी व्यवसायीहरू सोमबार सडकमा उत्रिए।
‘व्यवसायी मर्नु पर्यो त ?’ भन्ने भावनासहित उनीहरूले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयअगाडि करिब ३ घण्टा धर्ना दिए।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मोरङको अगुवाइमा बिहानै विराटनगरका मुख्य चोकहरू हुँदै नाराबाजीसहित र्याली निकालिएको थियो। ‘विलासिता कर खारेज गर’, ‘व्यवसाय बचाऊ’, ‘स्थानीय उत्पादनलाई संरक्षण देऊ’ जस्ता नारासहित व्यवसायीहरू राजस्व कार्यालयअगाडि जम्मा भएका थिए।
कुन्ति सुन पसलका सञ्चालक रमेश साहले भने, “हामीले व्यवसाय थाम्न नसक्ने अवस्थामा पुगेका छौं। सरकारको यो करले ग्राहक त हरायो नै, हामी पनि संकटमा पर्यौं।”
उनीहरूको माग छ — सुनचाँदी जस्तो परम्परागत, सांस्कृतिक र धार्मिक मूल्य बोकेको क्षेत्रमा ‘विलासिता’ भन्ने नाममा कर लगाउनु अन्यायपूर्ण छ। व्यवसायीहरूका अनुसार यो करले मूल्य वृद्धि गर्ने, ग्राहक घटाउने र अन्ततः वैध व्यवसाय नै बन्द गराउने खतरा निम्त्याएको छ।
महासंघ मोरङका अध्यक्षले भने, “सरकारले बेलैमा निर्णय सच्याएन भने, देशभरका व्यवसायीलाई गोलबद्ध गरी चरणबद्ध आन्दोलनमा जान्छौं।”
राजस्व कार्यालयका अधिकारीहरूसँग व्यवसायीहरूको प्रतिनिधिमण्डलले छलफल समेत गरेको थियो। तर तत्काल कुनै लिखित सहमति भने भएको छैन।
सुनचाँदी व्यवसायीहरूको आन्दोलनले यो क्षेत्रको असन्तोषलाई पुनः सतहमा ल्याएको छ। सरकार मौन रहिरहे अझ ठूला आन्दोलनको संकेत व्यवसायीले दिएका छन्।




