भीम घिमिरे पुनः सीएनआईको केन्द्रीय उपाध्यक्ष चयन, अध्यक्षमा बिरेन्द्रराज पाण्डे
२०८२ असार २५, बुधबार १९:५५
काठमाडौं – नेपाल उद्योग परिसंघ (सीएनआई) को २२ औं वार्षिक साधारण सभाले भीम घिमिरेलाई पुनः केन्द्रीय उपाध्यक्षमा निर्वाचित गरेको छ। घिमिरेले प्रदेश तथा शाखाको तर्फबाट दोस्रो कार्यकालका लागि पुनः उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।
कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहेका घिमिरे यसअघि पनि सर्वसम्मत रूपमा उपाध्यक्षमा निर्वाचित भएका थिए। उद्योग क्षेत्रमा सक्रिय र अनुभवी व्यक्तित्वको रूपमा चिनिने घिमिरेको पुनः चयनलाई संस्थाभित्र स्थिरता र नेतृत्व निरन्तरताको रूपमा हेरिएको छ।
यसैबीच, सभाले बिरेन्द्रराज पाण्डेलाई परिसंघको नयाँ अध्यक्षमा चयन गरेको छ। निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले कार्यकाल पूरा गरी जिम्मेवारी सुम्पिएका हुन्। त्यस्तै, बरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी निर्वाचित भएका छन्।
साधारण सभाले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र उद्योग प्रवर्द्धनका एजेन्डाहरूमा केन्द्रित हुने बताइएको छ।




