काठमाडौं, २६असार – आज गुरु पूर्णिमा। ज्ञान, संस्कार र मार्गदर्शनका प्रतीक गुरुहरूको सम्मानमा समर्पित यो पावन पर्व देशभर श्रद्धा र आस्थाका साथ मनाइँदैछ।

गुरु पूर्णिमा हिन्दू परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तिका रूपमा समेत चिनिन्छ। यस दिन शिष्यहरूले आफ्ना गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै ज्ञानप्राप्तिको सूत्रपात गरेका दिनको सम्झना गर्छन्।

“अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जन शलाकया, चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः” भन्ने श्लोक स्मरण गर्दै देशभरका शैक्षिक, धार्मिक, र सामाजिक संस्थाहरूमा गुरुपूजन, सत्संग तथा सम्मान कार्यक्रमहरू आयोजना भइरहेका छन्।

यस अवसरमा विभिन्न नेताहरू, शिक्षाविद्हरू र धार्मिक व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत गुरुको महत्त्वबारे सन्देश प्रवाह गरेका छन्। उनीहरूले गुरुलाई केवल शिक्षणको माध्यम नभई जीवनका सच्चा पथप्रदर्शकको रूपमा व्याख्या गरेका छन्, जसले शिष्यलाई आत्मकल्याण र राष्ट्रसेवाको मार्गतर्फ अग्रसर गराउँछन्।

गुरुहरू केवल किताबका पानामा सीमित रहने पात्र होइनन्। उनीहरू शिष्यका अन्तरमनमा प्रेरणा, अनुशासन र कर्मको चेतना जगाउने शक्ति हुन्।

गुरु पूर्णिमाको अवसरमा राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने सम्पूर्ण गुरुजनप्रति श्रद्धासहित नमन व्यक्त गरिएको छ।