काठमाडौँ महानगरको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक, सहरी पूर्वाधारमा प्राथमिकता
२०८२ असार २९, आईतवार १७:३०
काठमाडौँ, असार २९ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
उपप्रमुख सुनिता डंगोलले आइतबार नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठकमा वार्षिक बजेट प्रस्ताव गर्दै सहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिइएको जानकारी दिइन्।
डंगोलका अनुसार आगामी वर्षमा रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषबाट व्ययभार पर्नेछ भने रु ६५ करोड रुपैयाँ अन्य वाह्य स्रोतबाट जुटाइनेछ।
“सहरी विकास र पूर्वाधार विस्तारका लागि योजनाहरूलाई तीव्रता दिइनेछ,” उपप्रमुख डंगोलले भनिन्, “भौतिक विकासका साथै सफा, हरित र सुरक्षित महानगर बनाउने दिशामा लगानी बढाइनेछ।”
महानगरले यस वर्ष सडक सुधार, ढल व्यवस्थापन, खानेपानी, वातावरण संरक्षण, स्मार्ट प्रविधि उपयोग, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समेत विशेष बजेट छुट्याउने बताएको छ।
विकासका मुख्य प्राथमिकता क्षेत्रहरू:
सहरी पूर्वाधार (सडक, पुल, ढल)
स्मार्ट प्रविधि (डिजिटल सेवा विस्तार)
वातावरणीय सुधार (हरित क्षेत्र प्रवर्द्धन)
सामुदायिक शिक्षा तथा स्वास्थ्य
दिगो विकास योजनाहरू
नगर सभामा बहसपछि बजेट पारित हुने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिकाले विगत वर्षहरूको तुलनामा यो वर्ष बजेट कार्यान्वयनमा प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।




