पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
२०८२ असार ३२, बुधबार ०८:३४
काठमाडौं, असार ३२ जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको भन्दै विभागले बाढी, पहिरो तथा भू–स्खलनको जोखिम बढ्न सक्ने उल्लेख गरेको छ।
विभागले दिएको मौसम पूर्वानुमानअनुसार, “मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासमा तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालतर्फ सरेको छ। यही कारण पूर्वी नेपालमा वर्षाको प्रभाव बढी देखिनेछ।”
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भेगमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।




