४२ करोड नयाँ ५० रुपैयाँका नोट आउँदै! राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र खोल्यो
२०८२ श्रावण ९, शुक्रबार १२:२५
श्रावण ९ काठमाडौं – अब बजारमा नयाँ चम्किला ५० रुपैयाँका नोट आउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकैपटक ४२० मिलियन (४२ करोड) नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै, नोटलाई सुरक्षित र अत्याधुनिक प्रविधिबाट छाप्नका लागि विश्वभरका छापाखाना कम्पनीलाई प्रतिस्पर्धामा उत्रन आह्वान गरेको हो।
बोलपत्र प्रक्रिया सिंगल स्टेज, टू इन्भेलोप प्रणाली मार्फत हुनेछ। इच्छुक कम्पनीहरूले प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बजेट समेत तयारी अवस्थामा रहेको जनाएको छ।
राष्ट्र बैंकले यो कदमले बजारमा नगद आपूर्ति सहज बनाउने र पुराना ५० रुपैयाँका नोटलाई चरणबद्ध रूपमा प्रतिस्थापन गर्ने योजना रहेको बताएको छ। अब चाँडै नै बजारमा चम्किला, नयाँ सुरक्षा विशेषतासहितका ५० रुपैयाँका नोट देख्न सकिनेछ।




