एमालेमाथि चौतर्फी आक्रमणको मूल्यांकन, ओलीको निर्देशन जारी
२०८२ श्रावण १३, मंगलवार १८:४६
काठमाडौं, श्रावण १३ – प्रमुख सत्तारूढ दल नेकपा एमालेले हाल पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको निष्कर्ष निकालेको छ। साउन ५ देखि ७ गतेसम्म सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति अन्तरपार्टी निर्देशन जारी गर्दै यो तथ्य सार्वजनिक गरेका हुन्।
ओलीद्वारा जारी निर्देशनमा हालको राजनीतिक परिवेशमा एमालेलाई कमजोर पार्ने प्रयास तीव्र भएको भन्दै त्यसविरुद्ध संगठित रूपमा उभिन नेतृत्वदेखि तल्लो तहसम्मका संरचनालाई सक्रिय बनाउन आह्वान गरिएको छ।
निर्देशनअनुसार, पार्टीका संगठनात्मक गतिविधि सुदृढ गर्दै, आम कार्यकर्ता र जनसमर्थकलाई अभिप्रेरित गर्न आन्तरिक अभियान सञ्चालन गरिनेछ।
साथै, सरकारका गतिविधिहरूलाई जनताप्रति प्रतिवद्ध देखाउने गरी समन्वय गर्ने जिम्मेवारी समेत तोकिएको छ।
एमालेको यो निष्कर्षसँगै निकट भविष्यमा पार्टीभित्र आन्तरिक अनुशासन र संगठन विस्तारलाई प्राथमिकता दिने तयारी देखिएको छ।




