विराटनगर, श्रावण १४ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार परिवर्तनको चलखेलमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन्।

बुधबार विराटनगर एयरपोर्टमा  सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले मुलुकको जटिल समस्याको समाधानका लागि विभिन्न दलका नेताहरूसँग भेटघाट भइरहेको बताएका हुन्।

तर, सरकार परिवर्तन गर्ने कुनै किसिमको छलफल आफूले नगरेको उनले प्रष्ट पारे। “सरकार परिवर्तनका लागि संसदीय संख्या चाहिन्छ, त्यो संख्या अहिले हाम्रो पक्षमा छैन,” उनले भने।

कोइरालाले वर्तमान सरकार जनअपेक्षाअनुसार चल्न नसकेको स्वीकार गरे पनि विकल्पका रूपमा अर्को सरकार बन्ने सम्भावना न्यून रहेको बताए। त्यसैले, हालको सत्ता गठबन्धनकै नेतृत्वमा नै २०८४ सालको निर्वाचन सम्पन्न हुने उनको धारणा थियो।

उनको यो भनाइसँगै हालसालै चलेको सरकार परिवर्तनको अड्कलबाजी केही शान्त हुने देखिएको छ।