काठमाडौँ, साउन १५ – नेपाली समाजमा साउन १५ को दिन खिर खाएर मनाउने परम्परा आज देशैभरि उत्साहका साथ मनाइँदैछ। वर्षा ऋतुको मध्य भागमा पर्ने यो विशेष दिनलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्य–पोषणसँग जोडेर मनाउने परम्परा पुरातन कालदेखि निरन्तर चलिआएको पाइन्छ।

असार १५ को दही-च्युरा पछि साउन १५ को खिर, नेपाली आहार संस्कृतिमा विशेष स्थान राख्दछ। घरघरमा दूध, चामल, घ्यू, मरमसला र सुकमेलयुक्त खिर पकाइँदै छ, कतै घरायसी त कतै सामूहिक रूपमा बाँड्ने कार्यक्रमहरू पनि भइरहेका छन्।

साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ। व्रत गर्नेहरूले सात्विक खाना खाने परम्परा अनुसार दूधजन्य परिकार खिरलाई पवित्र र उपयोगी मानिन्छ। यसले धार्मिक आस्था, सामाजिक मेलमिलाप र पारिवारिक एकता झल्काउँछ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार साउन महिनामा वर्षाका कारण शरीर चिसो हुने, पाचन कमजोर हुने र संक्रमणको जोखिम बढ्ने सम्भावना हुन्छ। तातो खिरले शरीरलाई ऊष्मा दिने, ऊर्जा दिने र रोग प्रतिरोधात्मक शक्ति बढाउने कार्य गर्छ।
दूध र चामलको संयोजनले कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम जस्ता पोषक तत्व प्रदान गर्छ, जसले शरीरलाई बलियो बनाउँछ।

साउन १५ लाई लिएर बजारमा दूध र खिरका सामग्रीको माग बढेको व्यापारीहरू बताउँछन्।
विद्यालय, मन्दिर, संघसंस्था र सामाजिक समूहहरूले खिर खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छन्। सामाजिक सञ्जालमा पनि खिरका तस्बिरहरू शेयर गर्ने लहर चलेको छ।

 खिर खाएर मनाइने साउन १५ केवल स्वादको विषय मात्र नभई नेपाली संस्कार, स्वास्थ्य र समाजको पहिचान बोकेको चाडका रूपमा स्थापित हुँदै गएको छ।