कोशीमा लम्पी स्किनको संक्रमण तीव्र, २२ हजार बढी पशु प्रभावित, १ अर्ब बढीको नोक्सानी
२०८२ श्रावण १८, आईतवार १९:४५
विराटनगर , १८ श्रावण , देशभर फेरि लम्पी स्किन रोगले गाईभैंसीहरूलाई सास्ती दिन थालेको छ। पछिल्लो साढे दुई महिनामा मात्रै २२ हजार २ सय ५६ गाईभैंसीमा लम्पी स्किन रोग देखिएको छ भने ६ सय ३६ पशुको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी असर कोशी प्रदेशमा देखिएको छ, जहाँ २२ हजार १ सय १२ गाईभैंसी संक्रमित भएका छन्। त्यसमध्ये ६ सय ३७ पशुले ज्यान गुमाइसकेका छन्। यस रोगका कारण कोशी प्रदेशमा मात्रै १ अर्ब ८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
पशुसेवा विभागका अनुसार हालसम्म देशभर १२ हजार ३ सय २ वटा संक्रमित पशु उपचारपछि निको भइसकेका छन् भने ७ हजार ८ सय ६६ अझै पनि सक्रिय रूपमा संक्रमित छन्।
वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठले रोग नियन्त्रणका लागि सघन अनुगमन, खोप अभियान, रोग प्रभावित क्षेत्रमा पशु आवागमन नियन्त्रण तथा स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिएका छन्।
लम्पी स्किन रोगले विगत वर्षहरूमा पनि व्यापक क्षति पुर्याएको थियो। पुनः फैलिन थालेपछि किसानहरू चिन्तित भएका छन्। अब राज्य र सम्बन्धित निकायले तिव्र रूपमा कदम नचाले स्थिति झनै भयावह हुने देखिन्छ।




