काठमाडौंका सडकमा चुरे र किसानका पक्षमा आवाज, संरक्षणकर्मीको शान्तिपूर्ण प्रदर्शन
२०८२ श्रावण १९, सोमबार १६:३४
काठमाडौं, श्रावण १९, आज काठमाडौंको सडकहरूमा फरक दृश्य देखियो—हातमा प्लेकार्ड, मुखमा नाराहरू, र मनमा चुरे बचाउनुपर्ने चिच्याइरहेको पीडा। ‘चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल’को अगुवाइमा चुरे संरक्षणकर्मीहरूको एक टोलीले राजधानीको चोक–चोकमा उभिएर प्रकृति र किसान दुवैका लागि आवाज उठाए।
उनीहरूको माग स्पष्ट थियो—चुरे क्षेत्रको अनियन्त्रित दोहन तत्काल रोकिनुपर्छ, र सुक्खाको चपेटामा परेका किसानहरूलाई न्यायसहित क्षतिपूर्ति दिनुपर्छ। “चुरे मासिए, तराई बाँझिन्छ,” लेखिएको पोस्टर लिएर उभिएका एक सहभागीले भने, “हामी प्रकृति जोगाउने लडाइँ लडिरहेका छौं, सरकार कहाँ छ?”
वातावरणीय समस्याको जरा चुरेमा रहेको भन्दै प्रदर्शनकारीहरूले चुरेलाई राष्ट्रिय संकट क्षेत्र घोषणा गर्नुपर्ने धारणा राखे। अभियानका संयोजक भेषराज अधिकारीले गम्भीर स्वरमा चेतावनी दिए, “आज बोल्दैनौं भने भोली सास फेर्न पनि ठाउँ नहुने स्थिति आउन सक्छ।”
राजधानीको ट्राफिक केही समय अवरुद्ध भइरहँदा, सडकमा जुरेको मानवसाङ्लोले चुरेप्रतिको माया र चिन्तालाई जस्ताको तस्तै देखायो। कार्यक्रममा किसान प्रतिनिधिदेखि लिएर विद्यार्थी, युवा र बुढापाकासम्मको उल्लेख्य उपस्थिति थियो।
अन्त्यमा आयोजकहरूले चेतावनी दिए—“यो आवाज रोकिँदैन, जबसम्म चुरे बाँच्दैन र किसान मुस्कुराउँदैन।”




