चार वर्षपछि माओवादी उपमहासचिव जनार्दन शर्माले गरे माइन्युटमा सहि, पार्टी एकतालाई पुनः जोड
२०८२ श्रावण १९, सोमबार १६:४५
काठमाडौं, श्रावण १९,नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ चार वर्षपछि पुनः पार्टी निर्णयको माइन्युटमा सहि गर्न तयार भएका छन्। पार्टीको पछिल्लो स्थायी समिति बैठकमा लामो संवाद र गम्भीर छलफलपछि शर्मा सहमत भएका हुन्।
पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार, श्रावण १६ गतेसम्म चलेको स्थायी समिति बैठकमा शर्माले औपचारिक रूपमा माइन्युटमा हस्ताक्षर गर्न सहमति जनाएका हुन्। “उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ,” सापकोटाले भने, “अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरूको विचारपछि उहाँले महसुस गर्नु भएको हो।”
शर्मा सन् २०२१ मा सम्पन्न आठौं महाधिवेशनमा महासचिवको दौडमा रहेका थिए। तर, आफूलाई योजनाबद्ध रूपमा रोकिएको आरोप लगाउँदै त्यसयता कुनै पनि औपचारिक माइन्युटमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए।
यद्यपि, पार्टी एकताको सन्देश दिने गरी अब उनले माइन्युटमा सही गर्ने निर्णयलाई महत्त्वपूर्ण मानिएको छ। यसले माओवादीभित्रको आन्तरिक असमझदारी कम हुने अपेक्षा गरिएको छ।
यसैबीच, सापकोटाले शर्माले गत श्रावण ६ गते दिएका विवादास्पद अभिव्यक्तिको विषयमा पनि स्थायी समितिमा छलफल भएको जानकारी दिए। उक्त दिन शर्माले “मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेका छन्” भन्ने अभिव्यक्ति दिएका थिए।
“उहाँले त्यस अभिव्यक्तिको आत्मआलोचना गर्नुभएको छैन,” सापकोटाले भने, “तर पार्टीले त्यसबारे उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने निर्णय गरेको छ।”
माओवादी नेतृत्वले यस कदमलाई नेतृत्वमा स्पष्टता, सहमति र पार्टीभित्र लोकतान्त्रिक संवादको अभ्यासका रूपमा व्याख्या गरेको छ। पार्टी स्रोतका अनुसार आगामी बैठकहरूमा अझ समन्वयात्मक नीति निर्माणमा जोड दिइनेछ।




