सुनसरी श्रावण २० , पूर्वी पहाडी र तराईका विभिन्न जिल्लामा लगातार परेको वर्षाले कोशी नदीको पानीको बहावमा उतारचढाव भइरहेको छ। सोमबार राति १० बजेको मापन अनुसार कोशी ब्यारेज हुँदै १,७९,७४० क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

हाल ५२ वटा मूल ढोका र ४ वटा नहर ढोकामध्ये १९ वटा खुला गरिएका छन्। सोमबार बिहान ६ बजे र राति ८ बजे गरिएको मापनमा बहाव १,७५,६८५ क्युसेक प्रति सेकेण्ड थियो, तर राति १० बजेपछि यसमा वृद्धि भएको हो।

कोशी ब्यारेज हुँदै १,५०,००० क्युसेकभन्दा बढी पानी बग्दा खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार अहिले ब्यारेजमा रातो बत्ती प्रज्वलित गरिएको कन्ट्रोल रुमले जनाएको छ। 

यसले आसपासका बासिन्दालाई सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा सर्न, र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।