कार्यवाहक प्रधानमन्त्रीको निर्देशन : मनसुन विपद् जोखिममा उच्च सतर्कता
२०८२ श्रावण २०, मंगलवार १२:५२
काठमाडौं श्रावण २०, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेसँगै देशभरका सरकारी निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। मंगलबार शहरी विकास मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा उनले आवश्यक पूर्वतयारी र समन्वयका लागि सम्बन्धित निकायलाई कडाइका साथ काम गर्न आग्रह गरे।
बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्य सचिव एकनारायण अर्याल, र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहितका अधिकारीहरूको सहभागिता थियो।
बैठकले जोखिमयुक्त क्षेत्रहरूमा रातिको सवारी संचालनमा रोक, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, एफएम, मोबाइल एसएमएस र सामाजिक सञ्जालमार्फत सूचना प्रसारण गर्ने, र सुरक्षा निकायलाई अलर्ट अवस्थामा राख्ने निर्णय गरेको छ।
त्यस्तै, उद्धार र राहतका लागि नेपाल सेना, प्रहरी र स्थानीय तहका स्वयंसेवकलाई तयारी अवस्थामा राख्ने, नदी तथा नालामा अवरोध हटाउने, र बागमती नदीमा गेज–क्रेन (गेग्र्यान) हटाउने काम तत्काल सुरु गर्ने पनि निर्णय भएको छ।
बैठकपछि प्रधानमन्त्री सिंहले सबै तहका निकायलाई “वर्षा अझै केही दिन जारी रहने सम्भावना भएकाले अनावश्यक बाहिरी गतिविधि नगर्नुहोस्” भनी नागरिकलाई सचेत गराए।




