असोज १ देखि पुराना गाडीमा पनि नयाँ ‘ईम्बोस्ड नम्बर’को अनिवार्यता
२०८२ श्रावण २०, मंगलवार १८:३३
काठमाडौ श्रावण २०,अब पुरानो गाडीमै पनि नयाँ पहिचानको छाप बस्ने भएको छ। सरकारले असोज १ गतेदेखि देशभर सबै सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले यो निर्णय पक्का गरेको हो।
यो नम्बर प्लेट साधारण होइन—यसमा धातुमा उभिएको अक्षर र अंक मात्र होइन, भित्रै RFID चिप पनि जडान हुन्छ। यसले ट्राफिक प्रहरीलाई तुरुन्तै सवारीको विवरण पत्ता लगाउन सजिलो बनाउँछ। चोरी, दुर्घटना वा नियम उल्लङ्घन अब छुट्टिनै गाह्रो!
शुल्क पनि स्पष्ट तोकिएको छ—मोटरसाइकलका लागि रु. २५००, कारका लागि रु. ३२०० र ठूला सवारीका लागि रु. ३६००। असोज १ पछि यो नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही हुनेछ।
सरकारको भनाइमा यो प्रणालीले सडक सुरक्षा, राजस्व असुली र सवारी व्यवस्थापनमा क्रान्ति ल्याउने छ। अब सडकमा उत्रिँदा, तपाईंको गाडीले केवल यात्रु होइन, आफ्नै डिजिटल पहिचान पनि बोक्नेछ।




