“१२ सय मेगावाटको सपना : बुढीगण्डकीमा निजी–बैंक साझेदारीको बिगुल”
२०८२ श्रावण २०, मंगलवार १८:५५
काठमाडौं श्रावण २०,बुढीगण्डकी जलविद्युत् आयोजना अन्तर्गत निजी क्षेत्रले ३४१ मेगावाट क्षमताको परियोजना निर्माण गर्ने भएको छ ।
करिब ५२ अर्ब रूपैयाँ लागतको यो आयोजना नेपालको निजी क्षेत्रबाट अघि बढाइने अहिलेसम्मकै ठूलो ऊर्जा लगानी मानिएको छ।
निजी क्षेत्रको लगानीलाई सहयोग गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) नेतृत्वको कन्सोर्टियमले आवश्यक ऋण उपलब्ध गराउने भएको छ। बैंकको नेतृत्वमा रहेको समूहले परियोजना वित्तीय समापन (financial closure) अन्तिम चरणमा पुर्याएको छ।
पूर्ण बुढीगण्डकी आयोजना १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना हो, जसको कुल लागत चार खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।
तर अहिले निजी क्षेत्रको पहलमा सानो खण्ड अघि बढाइएको हो। ऊर्जा मन्त्रालयका अनुसार परियोजना सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा अघि बढाइनेछ। सरकारले आवश्यक नीति तथा पूर्वाधार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय प्रभावित क्षेत्रका अधिकांश परिवारलाई मुआब्जा वितरण भइसकेको र आवश्यक पूर्वतयारी पूरा भएको दाबी गरिएको छ। अब लगानी संरचना टुंगिएलगत्तै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।




