२१ श्रावण  काठमाडौं , कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने चर्चा पूर्णतः असत्य भएको स्पष्ट पारेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अन्तर्गत बहुविवाह दण्डनीय अपराध भएकाले यसलाई वैधता दिने कुनै तयारी नभएको बताए।

 “समाजमा नकारात्मक असर पुर्‍याउने, सामाजिक मूल्य र मान्यतालाई प्रतिकूल बनाउने कुनै पनि प्रस्तावित विधेयक यो सम्मानित सदनमा पेश हुनेछैन,” उनले भने।

हालै केही सञ्चारमाध्यममा कानुन मन्त्रालयले ‘विशेष परिस्थितिमा’ बहुविवाह वैध हुने गरी मस्यौदा तयार गरेको खबर सार्वजनिक भएपछि आलोचना चर्किएको थियो। 

यही विषय सदनमा उठेपछि मन्त्री चौरसियाले प्रष्ट पार्दै यस्तो संशोधन नगर्ने प्रतिवद्धता जनाएका हुन्।