श्रावण २३ विराटनगर , सनातन धर्म सेवा समिति मोरङको साधारण सभा हिजो बुधबार सम्पन्न भएको छ।
समितिका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेको सभापतित्वमा र केन्द्रीय अध्यक्ष माधवप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

सभामा धर्म, संस्कृति र शिक्षा क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने छ संस्था तथा व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सम्मानित संस्थाहरूमा झापाको गौरादहस्थित जानकीश्वर गुरुकुल विद्यालय, साधुटारस्थित वेद वेदाङ्ग संस्कृत पाठशाला, काठमाडौंको ‘गौरी’ मासिक, अर्जुनधारास्थित कालिका संस्कृत विद्यापीठ, विराटनगर–४ स्थित रुद्रेश्वर शिवालय, र भोजपुरको अरुण आध्यात्मिक केन्द्र रहेका छन्।

यी संस्थाहरूले क्रमशः शिवादत्त रमादेवी भट्टराई, किसनलाल रुक्मिणिदेवी राजगढीया, ओमप्रकाश उषादेवी गोयल, आसकरण यशोदादेवी राठी, गङ्गाविशन राठी स्मृति, र बलभद्र रिजाल–नारायण विष्णु नामका पुरस्कार प्राप्त गरेका हुन्।

कार्यक्रमकै क्रममा अध्यक्ष प्राध्यापक कविराज न्यौपानेले धर्म र राष्ट्रको सम्बन्धबारे धारणा व्यक्त गर्दै भने, “सनातन धर्म, संस्कृति र कलाको उचित संरक्षणबाट मात्र राष्ट्र बलियो, समुन्नत र नैतिकतायुक्त बन्न सक्छ। आज धर्मको नाममा केही विकृत धारणा र कर्महरू फैलिरहेका छन्, जुन सत्य सनातन मार्गबाट भट्किएका हुन्। त्यसैले हामी सबैले मूल धर्मका सिद्धान्तहरूलाई आत्मसात् गर्दै धर्मको सही स्वरूपलाई जोगाउनु अत्यावश्यक छ।”

सभामा डा. मेदिनीप्रसाद शर्मा, जुगल राठी, लक्ष्मीप्रसाद खतिवडा, रघुनाथ रिजाल, सोमप्रसाद कोइराला, इन्दिरा रिजाल, प. माधवप्रसाद काफ्ले, शिरोमणि भट्टराई, प्रकाशदत्त भट्टराई, दिङ्गलाली कान्छो, प्रतिमा निरौला, लक्ष्मी पोखरेलसरिता रेग्मीले पनि मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन गोकुल अधिकारीले गरेका थिए