काठमाडौं, श्रावण  २२ , नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन समयमा जारी नभएको भन्दै भदौ दोस्रो सातादेखि पुनः आन्दोलनमा जाने निर्णय गरेको छ।

 महासंघको बिहीबार बसेको केन्द्रीय समिति बैठकले सरकारले तोकेको समयसीमाभित्र ऐन ल्याउन नसकेपछि आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले पटक–पटकको वार्तामा शिक्षा ऐन छिट्टै ल्याउने प्रतिवद्धता जनाए पनि व्यवहारमा काम नभएको बताए।

“शिक्षकको सेवा संरचना, स्थायीत्व, पदोन्नति र पेन्सन जस्ता महत्वपूर्ण विषय समेटिने शिक्षा ऐन अझै तयार भएको छैन,” अध्यक्ष सुवेदीले भने, “सरकारले आफ्नै प्रतिबद्धता तोडेकाले हामी फेरि आन्दोलनमा जान बाध्य भएका हौं।”

महासंघले चरणबद्ध आन्दोलनको तयारी गरेको जनाएको छ। पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम,

दोस्रो चरणमा जिल्लास्तरीय विरोधसभा,तेस्रो चरणमा केन्द्रस्तरीय प्रदर्शन हुने महासंघले जनाएको छ।

महासंघले गत वर्ष पनि शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएको थियो। त्यसपछि सरकारले ऐन ल्याउने लिखित प्रतिबद्धता गरेपछि आन्दोलन रोकिएको थियो। तर, अहिलेसम्म सो ऐन सार्वजनिक नहुँदा पुनः असन्तुष्टि चुलिएको महासंघको भनाइ छ।

महासंघका पदाधिकारीहरूले शिक्षा ऐन जारी नहुनुको असर विद्यालयहरूको शैक्षिक गुणस्तरमा पनि पर्ने चेतावनी दिएका छन्। साथै, सरकारले वार्ताबाट समाधान खोज्न तत्परता नदेखाए कडा आन्दोलनको मार्ग अवलम्बन गरिने चेतावनी समेत दिइएको छ।