मुख्यमन्त्री बानियाँको फरक दृष्टिकोण : सेवा–सुविधा अस्वीकार, जनमुखी निर्णयलाई प्राथमिकता
२०८२ श्रावण २२, बिहीबार १९:१३
काठमाडौं, श्रावण २२ , बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदको रुतबाको लागि नभई जनताको सेवाका लागि आफ्नो जिम्मेवारी सुरु भएको स्पष्ट पारेका छन्।
नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले आफू “फोटो टाँस्ने” मुख्यमन्त्री बन्न नआएको बताएका हुन्। उनले पारदर्शिता, उत्तरदायित्व र जनताप्रतिको जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
“पदका लागि होइन, जनताको सेवा गर्न आएको हुँ,” मुख्यमन्त्री बानियाँले घोषणा गरे, “मुख्यमन्त्रीको हैसियतले पाउने सेवा–सुविधा पनि लिँदिनँ।”
बानियाँले मुख्यमन्त्री बनेपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब, सीमान्तकृत, दलित, चेपाङ, भोटे, जिरेल र बनकरियाजस्ता समुदायका छोराछोरीको लागि चिकित्सा शिक्षा सुनिश्चित गर्ने रहेको बताए।
उनका अनुसार, प्रदेश सरकारले २ मेडिकल डाक्टर, २ आयुर्वेद डाक्टर र २ पशु चिकित्सक गरी कुल ६ जना छात्रछात्रालाई छात्रवृत्तिमा डाक्टर पढाउने निर्णय गरिसकेको छ। साथै, १० जना गरिब परिवारकी छोरीहरूलाई नर्सिङ शिक्षाको छात्रवृत्ति दिइने घोषणा समेत गरेका छन्।
मुख्यमन्त्री बानियाँले आफूलाई अरू मुख्यमन्त्रीहरूसँग तुलना गर्नुको सट्टा, काम गरेर देखाउने अठोट लिएका छन्। उनले सेवा र जनताप्रतिको उत्तरदायित्वलाई राजनीतिक नारा नभई व्यवहारमा उतार्ने बताएका छन्।




