काठमाडौं श्रावण २५, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। केही दिनअघि मात्रै उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

सरकारका स्रोतका अनुसार, यी दुई शीर्ष नेतासँगको छुट्टाछुट्टै भेटमा प्रदेश मन्त्रिपरिषद् फेरबदलसहितका राजनीतिक विषयमा छलफल भएको छ। यद्यपि, मुख्यमन्त्री कार्कीले सार्वजनिक रूपमा भेटघाटका सबै विषय खुलाउन चाहेनन्।

“राजनीतिक विषयमा सामान्य गफगाफ भयो, प्रधानमन्त्रीलाई सरकारका कामकाजबारे रिपोर्टिङ पनि गरेँ,” कार्कीको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

देउवासँगको भेटबारे उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “पूर्वप्रधानमन्त्रीलाई पनि प्रदेशको समग्र परिस्थितिबारे जानकारी गराएँ।”

स्रोतका दाबीअनुसार, ओली र देउवासँगको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना मुख्य एजेन्डा बनेको छ। तर, आधिकारिक रूपमा यसबारे कुनै निर्णय वा घोषणा भएको छैन।