देउवाको भनाइ – ‘लैङ्गिक संवेदनशीलता सबैको मुद्दा हो’
२०८२ श्रावण २५, आईतवार १७:१२
काठमाडौं श्रावण २५ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलतालाई समाजको साझा मुद्दा भएको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित लैङ्गिक संवेदनशीलता सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उनले सम्मानित, सुरक्षित र समावेशी समाज निर्माणका लागि सबै तह र वर्गको समान सहभागिता आवश्यक रहेको जोड दिए।
देउवाले भने, “लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र कुरा होइन, यो त सम्पूर्ण समाजको रूपान्तरणसँग जोडिएको महत्त्वपूर्ण पक्ष हो। हामी सबै यसमा जागरुक भइ काम गर्यौँ भने मात्र समावेशी समाज सम्भव हुन्छ।”
उनले यस विषयमा प्राप्त हुने विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान कांग्रेसले पहल गर्ने पनि स्पष्ट पारे।
सो अवसरमा देउवाले सोसल डेमोक्रेसीको सञ्जालमा विभिन्न मुलुकका सामाजिक लोकतान्त्रिक दलहरूको आबद्धता र यसले एसियाली क्षेत्रमा चलाउँदै आएको राजनीतिक, आर्थिक र सामाजिक बहसलाई अझ सशक्त बनाइरहेको तथ्यसमेत प्रस्तुत गरे।
कार्यक्रममा पार्टीका नेताहरू, महिला संगठनका प्रतिनिधि तथा लैङ्गिक समानता क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति थियो




