गगन थापा : “तीन ठूला नेताले सन्यास लिंदा म सबैभन्दा खुसी हुनेछु”
२०८२ श्रावण २६, सोमबार ०८:२८
काठमाडौं, श्रावण २६ साेमवार — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका तीन ठूला दलका शीर्ष नेताहरूले राजनीतिबाट सन्यास लिने दिनलाई आफूले ‘सबैभन्दा खुसी हुने क्षण’ का रूपमा चित्रण गरेका छन्।
हिजो आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ कार्यक्रममा बोल्दै थापाले राजनीतिक नेतृत्वप्रति जनस्तरमा बढ्दो असन्तुष्टिको उल्लेख गर्दै विशेषतः युवापुस्तामा ठूलो रिस र वितृष्णा देखिएको बताए।
“नेपालमा आजको राजनीतिक नेतृत्वप्रति यति ठूलो वितृष्णा छ कि, दल मात्र होइन, सम्पूर्ण राजनीतिज्ञमाथि नै आक्रोश बढेको छ। खासगरी युवाहरू धेरै निराश छन्,” थापाले भने।
कार्यक्रमका क्रममा उनले हाल चलिरहेको ‘गाईजात्रा’ पर्वको प्रसंग जोड्दै, “नेपालमा तीन नेताहरूको कार्यालय बन्द भयो भने अहिलेको समस्या धेरै हदसम्म समाधान हुन्छ भन्ने व्यंग्य सुनेको छु,” भन्दै स्पष्ट नाम समेत लिए
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस
केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा माओवादी केन्द्र
“यी तीन नेताले आजैको मितिबाट ‘हामी राजनीतिबाट सन्न्यास लिन्छौं’ भने म व्यक्तिगत रूपमा अति खुसी हुनेछु,” थापाले भने।
तर उनले यो भनाइलाई अपमानजनक होइन, सम्मानका साथ प्रस्तुत गरिएको दाबी गरे। “उहाँहरूलाई म निकै सम्मान गर्छु। उहाँहरूले मुलुकका लागि योगदान गर्नुभएको छ। तर अहिलेको अवस्थामा देशलाई नयाँ सोच र नयाँ पुस्ताको नेतृत्व आवश्यक छ,” उनको भनाइ थियो।
थापाले हाल संसद्मा पेश भएको भूमि विधेयकमा आफूले सबैभन्दा ठूलो संशोधन प्रस्ताव गरेको जानकारी पनि दिए। उनका अनुसार, “यो विधेयक हालको स्वरूपमै पास भयो भने दीर्घकालीन रूपमा ठूला समस्या निम्त्याउन सक्छ,” त्यसैले आवश्यक सुधारका लागि संशोधन पेस गरिएको हो।
उनको निष्कर्ष थियो— नेपालको राजनीति अहिले ‘फोहोर जमेको पोखरी’ जस्तो बनेको छ, जसले अपेक्षित नतिजा दिन सक्दैन। “संसारका लोकतन्त्रमा यस्तो स्थिति हुँदैन,” उनले जोड दिए।




