काठमाडौँ, श्रावण २६ सोमबार — साताको पहिलो दिन नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२ अंकमा झरेको छ।


कारोबार सुरु भएपछि बजारले सुरुवाती सकारात्मक संकेत देखाए पनि ३२ मिनेटमै ओरालो लाग्यो। बिहान ११:३२ बजे नेप्से २८७५ अंकको उच्चतम स्तरमा पुगेको थियो।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब २१ करोड रुपैयाँ पुगेको हो।

सूचक घट्ने क्रम

माइक्रोफाइनान्स समूह २.३५ प्रतिशत र विकास बैंक समूह २.३१ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित भए।
अन्य समूहगत घटावट यसप्रकार छ — बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ र व्यापार १.४४ प्रतिशत।
अन्य समूह भने ०.३१ प्रतिशतले बढ्यो।

कम्पनी मूल्य उतारचढाव

३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घट्यो।
रिभर फल्स पावर १० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। पन्चकन्या माइ हाइड्रोपावर ६.८७ र बुद्धभूमि हाइड्रोपावर ३.४७ प्रतिशत बढे।
उन्नति सहकार्य लघुवित्त ७.६४ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमायो। लिबर्टी इनर्जी ७.०६, ट्रेड टावर ६.९९, सीवाईसी लघुवित्त ५.७४ र विन नेपाल लघुवित्त ५.७२ प्रतिशतले घटे।

धेरै कारोबार भएका कम्पनी

शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर बढी कारोबार भएका शीर्ष पाँच कम्पनी बने।

बजार पूँजीकरण आजको कारोबारपछि ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।