हुलाकी सडक निर्माण ढिलाइमा सांसद मोदीको चेतावनी, ‘सभामुखको अगाडि अनशन बस्छु’
२०८२ श्रावण २७, मंगलवार १५:५९
काठमाडौँ श्रावण २७ — प्रतिनिधिसभामा मङ्गलबार हुलाकी सडकको ढिलाइप्रति तीव्र असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सभामुखसमक्ष प्रत्यक्ष चेतावनी दिएका छन्।
शून्य समयमा बोल्दै सांसद मोदीले कटहरी खण्डको निर्माण कार्य सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि अधूरो अवस्थामा रहेको उल्लेख गरे। “हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष बित्न लागिसक्यो, अझै सम्पन्न भएको छैन,” उनले भने, “त्यहाँको जनताले अहिले सडकमा नै धान रोपिरहेका छन्।”
उनले सभामुख देवराज घिमिरेलाई सरकारलाई तत्काल रुलिङ दिन आग्रह गर्दै भने, “यदि रुलिङ भएन भने म यहाँकै अगाडि अनशन बस्छु। जबसम्म मेरो मागको सुनुवाइ हुँदैन, अनशन जारी राख्छु।”
स्थानीय बासिन्दाले वर्षौँदेखि प्रतीक्षा गरिरहेको उक्त सडक खण्डको निर्माण ढिलाइले जनजीवनमा थप समस्या सिर्जना भएको भन्दै मोदीले संसद् मार्फत सरकारको ध्यानाकर्षण गराए।




