पोखरा श्रावण २७ — देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या चुलिँदै गइरहेको बेला पोखरा महानगरपालिका भने यसलाई अवसरमा बदल्न खोज्दैछ ।

 महानगरले वडा नं. २८ मा बाँदरले नछुने, असिनाले पनि खासै असर नगर्ने, र बजारमा उच्च मूल्य पाउने मरिच खेतीलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ ।

महानगरको कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार यसै वर्ष वडा कार्यालयसँगको समन्वयमा ४०० वटा मरिचका बिरुवा वितरण गरिएको छ ।

 उनले भने, “मरिच खेती बाँदरको प्रकोपमुक्त मात्र होइन, स्थायी आम्दानीको स्रोत बन्न सक्छ, त्यसैले यसको विस्तारमा जोड दिइएको हो ।”

यो पहलको प्रेरणा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाबाट आएको हो । बास्तोलाले आफ्नो घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत सयौँ हरिया रूखको फेदमा मरिच लगाएका छन् । 

२०४६ सालदेखि मरिच खेती गर्दै आएका उनी अहिले राम्रो आम्दानी गर्दैछन् । बजारमा प्रतिकिलो करिब रु २,००० मा बिक्री हुने यो मसला बास्तोलाले पहिलोपटक लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०–१० रुपैयाँमा दुईवटा बिरुवा किनेर ल्याएका थिए ।

‘कालो सुन’का रूपमा परिचित मरिच खेती अब व्यक्तिगत प्रयासबाट संस्थागत अभियानतर्फ अघि बढ्दैछ । महानगरको योजना अनुसार आगामी वर्षहरूमा यस क्षेत्रलाई मरिच उत्पादनका लागि नमूना बस्तीको रूपमा विकास गरिनेछ ।