नेपाल प्राध्यापक संघको ६३औं दिवस डिग्री क्याम्पसमा सम्पन्न
२०८२ श्रावण २८, बुधबार २१:२६
विराटनगर, श्रावण २८ – नेपाल प्राध्यापक संघको ६३औं दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस प्राध्यापक संघले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथि प्रा. कविराज न्यौपाने रहनुभएको थियो।
प्रा. न्यौपानेले आफ्नो सम्बोधनमा संघको ऐतिहासिक भूमिका, शैक्षिक सुधारमा प्राध्यापकहरूको अग्रणी योगदान र विश्वविद्यालय शिक्षाको गुणस्तर वृद्धिका लागि आवश्यक नीतिगत परिवर्तनबारे धारणा व्यक्त गर्नुभयो।
उहाँले संघले सबै विश्वविद्यालयको साझा संघको रूपमा काम गर्दै आएको स्मरण गर्दै वि.सं. २०१९ असार १६ मा स्थापना भई सो समयमा कलेजहरू बन्द भएकोले संघको पहिलो बैठक बसेको दिनलाई आधार मान्दै श्रावण २८ लाई प्राध्यापक संघ दिवसको रूपमा मनाइँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा संघका पदाधिकारी, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी प्रतिनिधि तथा शिक्षासम्बन्धी सरोकारवालाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
आयोजक समितिले स्वागत मन्तव्यमा संघको स्थापनादेखि हालसम्मको संघर्षमय यात्रा स्मरण गर्दै शैक्षिक अधिकार, शिक्षकको सम्मान र विद्यार्थी हितका लागि संघको प्रतिबद्धता दोहोर्याएको थियो।
सो अवसरमा प्रमुख अतिथि प्रा. न्यौपानेलाई सम्मानपत्र, दोसल्ला र स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रम नेपाल प्राध्यापक संघ डिग्री क्याम्पस सभापति रामप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. खगेन्द्र आचार्य, प्रा.डा. भेषप्रसाद धमला, क्याम्पस प्रमुख डक. वहादुर मगर लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको भव्य उपस्थिती रहेको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै शैक्षिक क्षेत्रमा अझ प्रभावकारी सहकार्य गर्ने संकल्प व्यक्त गरेका थिए।




