विराटनगर भाद्र १ ,भाद्र महिनाको पहिलो आइतबारसँगै थारू समुदायको ठूलो सांस्कृतिक पर्व रैब सुरु भएको छ । पूर्वी नेपालका थारूहरूले यसलाई रैब पर्वको रूपमा मनाउँदा, पश्चिमी थारू समुदायले भने बड्का अट्वारी भनेर चिनाउँछन् ।

यो पर्व भदौ महिनाभर पर्ने आइतबारमा मनाइन्छ । यस वर्ष बड्का अट्वारी भदौ ८ गते परेको छ । पर्वको दिन बिहानै घर परिवारले दही, दूध, चिउरा, चिनी, जेरी र फलफूलजस्ता परिकार सेवन गर्ने चलन छ ।

जनविश्वासअनुसार यो दिन नुन र तेल खाएमा पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहेको छ । त्यसैले घरघरमा नुन र तेल वर्जित परिकार मात्र खाने गरिन्छ ।

थारू समुदायको सांस्कृतिक पहिचान झल्काउने यस पर्वले परिवारलाई एकताबद्ध बनाउने मात्र नभई सामाजिक सद्भाव र परम्परागत आस्था जोगाउने विश्वास गरिन्छ ।