काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट बढाउने चिकित्सा शिक्षा आयोगको हालैको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले उक्त निर्णय तत्काल फिर्ता नलिए अनशनसहितको आन्दोलनमा जाने चेतावनी दिएका छन्।

डा. केसीले ग्रामीण भेगमा स्वास्थ्य सेवा अभाव हुँदाहुँदै सरकारले निजी मेडिकल कलेजलाई मात्र प्राथमिकता दिने प्रवृत्तिले आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित बनाइरहेको आरोप लगाएका छन्। उनका अनुसार, त्रिवि शिक्षण अस्पतालमा आधारभूत पूर्वाधारको कमी देखाउँदै १०० जना विद्यार्थी भर्नामा हिचकिचाउने सरकारले, न्यून पूर्वाधार भएका निजी कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण छ।

उनले निजी मेडिकल कलेजमा बढ्दो मुनाफामुखी गतिविधि, आवासीय चिकित्सकमाथि भइरहेको श्रमशोषण र शिक्षण शुल्क बढाउने तयारीलाई पनि गम्भीर आपत्तिजनक भन्दै सरकारको नीतिप्रति प्रश्न उठाएका छन्।

विज्ञप्तिमा उनले सरकारसँग तीन प्रमुख माग राखेका छन्—

सिट बढाउने हालको निर्णय तुरुन्त फिर्ता लिनु,

शुल्क बढाउने कदम खारेज गर्नु,

आवासीय चिकित्सकलाई सरकारी चिकित्सक सरहको भत्ता उपलब्ध गराउनु।

त्यसैगरी, विगतमा सरकारसँग भएका सम्झौता अझै कार्यान्वयन नभएको भन्दै उनले तत्काल कारबाही गर्न चेतावनी दिएका छन्। अन्यथा फेरि सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।

डा. केसीको यस्तो चेतावनीसँगै फेरि स्वास्थ्य शिक्षा क्षेत्रमा आन्दोलन दोहोरिने संकेत देखिएको छ। सरकार पक्षबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन।