काठमाडौं भाद्र २ – चीनको चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (CFRD) स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा चीन र नेपालका गाउँबीच सांस्कृतिक र विकास साझेदारीलाई थप मजबुत बनाउने सम्झौतामा हस्ताक्षर भएको छ।

सोमबार सम्पन्न विशेष कार्यक्रममा ललितपुरका गोटीखेल र खोकना गाउँ, नुवाकोटको किम्ताङ गाउँ तथा चीनका कोइलुङ, प्याङयाङ र गउँगाङ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ सञ्चालन गर्न सहमति भएको हो। यस परियोजनामार्फत दुबै देशका गाउँहरूले आपसी अनुभव आदानप्रदान गर्ने, स्थानीय जीवनस्तर सुधार्ने र ग्रामीण विकासका नयाँ अभ्यासहरू साझा गर्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ राजदूत चेन सङ ले गत दशकयता CFRD ले खानेपानी, शिक्षा र गरिबी निवारणमा पुर्‍याएको योगदानलाई विशेष स्मरण गरे। उनले यस्ता परियोजनाले जनस्तरमै चीन–नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा साझेदारीलाई “नयाँ युगको सुरुआत” बनाउन सकिने बताए।

सिएफआरडीले ग्रामीण विकासका क्षेत्रमा १० वर्ष पूरा गर्दा आयोजना गरिएको यो सम्झौता जनस्तरको अन्तरक्रिया, सांस्कृतिक संरक्षण र जीवनस्तर सुधार का दृष्टिले ऐतिहासिक कदमका रूपमा लिइएको छ।

 अब नेपाल–चीनका गाउँहरूबीच परम्परा, सीप, शिक्षा र विकासका अनुभव साझा हुनेछन्, जसले दुवै देशबीचको सम्बन्धलाई आधारस्तरमै अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।