औगाडुगु/काठमाडौँ भाद्र ३ – अफ्रिकी मुलुक ब्रुकिनाफासोका राष्ट्रपति इब्राहिम ट्राओरेले पदभार सम्हालेदेखि अपनाएका राष्ट्रवादी आर्थिक नीतिहरूले विश्वभर ध्यान तानेका छन्। मुलुकको आन्तरिक स्रोत र शिक्षा क्षेत्रमा जोड दिने उनको नीति अहिले अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छ।

ट्राओरेले राष्ट्रपति भवनमा जडान गरिएका एसी हटाएर विद्यालयहरूमा जडान गराए। सांसद र मन्त्रीहरूको तलब २० प्रतिशतले कटौती गर्दै शिक्षक तथा शैक्षिक कर्मचारीको तलब ५० प्रतिशतले वृद्धि गरे। यसले शिक्षा क्षेत्रमा उत्साह बढाएको बताइन्छ।

उनको नेतृत्वमा ब्रुकिनाफासोको जीडीपी बढ्दो क्रममा छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ऋण लिन अस्वीकार गर्ने मात्र होइन, उनले ४.७ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण समेत फिर्ता गरिसकेका छन्। यसलाई मुलुकको आर्थिक स्वाधीनताको महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

नेपालमा भने परिदृश्य फरक छ। अर्थ मन्त्रालयका अनुसार नेपालमा बाह्य ऋण करिब २ ट्रिलियन रुपैयाँ नाघिसकेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतभन्दा बढी हो। बजेटको ठूलो हिस्सा ऋण तिर्नमै खर्च हुने गरेको छ। सांसद तथा मन्त्रीहरूको तलबभत्ता बढ्दो अवस्थामा रहे पनि शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन्।

अर्थशास्त्री भावुकराज न्या‌ैपानेकाे भनाइमा, “ब्रुकिनाफासोले आन्तरिक स्रोत परिचालन र शिक्षा क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्ने बाटो रोज्दा, नेपाल अझै ऋण र विदेशी सहयोगमै अडिएको छ।”

राष्ट्रपति ट्राओरेका प्रगतिशील कदमहरूले उनलाई अफ्रिका मात्र नभई विश्वकै उदाउँदो नेताको रूपमा स्थापित गरिरहेका छन्। 

नेपालले पनि खर्च कटौती, आन्तरिक स्रोत वृद्धि र उत्पादनमुखी लगानीलाई प्राथमिकता दिन सके दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्न सक्ने नीति आवश्यक रहेको  छ भनेर वताए ।