काठमाडौं, भाद्र ५ – विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालय सञ्चालक संघ–संस्थाहरूले पाँच बुँदे माग अघि सार्दै शुक्रबार बिहान प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले “गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन”, “पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन”, “निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण”, “अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ” भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए।

सञ्चालकहरूको भनाइमा विद्यालय शिक्षा विधेयकले निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने प्रावधानसहित कम्पनी खारेज गर्ने तयारी गरेको छ। उनीहरूका अनुसार यस्तो निर्णय कार्यान्वयन भएमा निजी विद्यालयको अस्तित्व नै संकटमा पर्नेछ।

पाँच बुँदे मागमा विद्यालय सञ्चालनको कानुनी ढाँचा कायम राख्नुपर्ने, शिक्षाको गुणस्तरमा राज्यले समेत जोड दिनुपर्ने, निजी क्षेत्रको योगदानलाई स्वीकार्नुपर्ने, शुल्क संरचना अभिभावक र विद्यालयबीचको आपसी सहमतिमा निर्धारण गर्नुपर्ने तथा छात्रवृत्ति व्यवस्था यथार्थपरक बनाउनुपर्ने उल्लेख गरिएको छ।

आन्दोलनकारीहरूले भनेका छन्, “निजी विद्यालयलाई दबाउने होइन, नियमन र सहकार्य गर्ने नीति ल्याउनुपर्छ। अभिभावकले निजी विद्यालय रोजेको कारण गुणस्तरीय शिक्षा हो, त्यसलाई राज्यले पनि स्वीकार्नुपर्छ।”

यसैबीच, शिक्षा मन्त्रालय स्रोतका अनुसार आजै विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ। मन्त्रालयले भने निजी विद्यालयहरूको मागसम्बन्धी छलफल अझै जारी रहेको जनाएको छ।