मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण तयारी अन्तिम चरणमा
२०८२ भाद्र ५, बिहीबार १२:५०
बारा भाद्र ५ — भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्ने पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विस्तारको सम्पूर्ण काम सकिएसँगै हाल सो पाइपलाइनमार्फत नियमित पेट्रोलियम पदार्थ आयात भइसकेको छ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार, पाइपलाइनमार्फत ल्याइएका पेट्रोलियम पदार्थको गुणस्तर परीक्षण भइरहेको छ। “परीक्षणका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिएको छ। पाइपलाइनमा कुनै समस्या देखिए तत्काल मर्मतसम्भार भइरहेको छ,” आचार्यले बताए।
उनका अनुसार, परीक्षणको काम पूरा भइसकेकाले छिट्टै हस्तान्तरण प्रक्रिया अघि बढाइने तयारी छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने वा अन्य ढंगले हस्तान्तरण गर्ने भन्ने विषयमा नेपाल र भारतबीच छलफल भइरहेको जानकारी समेत उनले दिए।
यससँगै, बारा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उच्चस्तरीय प्राविधिक टोलीले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पारेपछि अब केही दिनमै निर्माण कार्य तीव्र गतिमा सुरु हुने निगमले जनाएको छ।
यस विस्तारसँगै भारत–नेपालबीचको पेट्रोलियम आपूर्ति अझ सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।




