तीर्थ कोइरालालाई कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२
२०८२ भाद्र ७, शनिबार १६:२६
मोरङ भाद्र ७ – नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाइ पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित कार्यक्रममा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ प्राप्त गरेका छन्।
कार्यक्रममा कोइरालालाई २५ हजार रुपैयाँसहित सम्मान प्रदान गर्दै कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार प्रतिष्ठान विधेयक पत्रकारहरुको हितका लागि रहेको बताए।
प्रतिष्ठानबारे बोल्दै प्रा. कविराज न्यौपानेले कोशराज रेग्मी यस समाजका अग्रणी पत्रकार मात्र नभई सामाजिक सुधारक र आर्थिक पारदर्शिताका ज्वलन्त उदाहरणीय व्यक्तित्व पनि हुनुहुन्थ्यो भनेका छन्।
उक्त पुरस्कार यसअघि महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले पाएका थिए।
कार्यक्रममा पत्रकार, सामाजिक संघ–संस्थाका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




