स्वमूल्याङ्कनमा ९७.२५ प्रतिशत, देशभर तेस्रो स्थान

रूपन्देही भाद्र ७ — रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तहको सूचीमा पर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गर्दै आएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा यो नगरले १०० मध्ये ९७.२५ प्रतिशत अंक हासिल गर्दै देशभर तेस्रो स्थान सुरक्षित गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि उत्कृष्ट स्थानीय तह घोषित तिलोत्तमाले यसपटक आफ्नै आन्तरिक स्रोतमा भर पर्न सक्ने क्षमता देखाउँदै, विकास–निर्माण कार्यलाई आत्मनिर्भर ढंगले अघि बढाएको छ।

नगरपालिकाले आन्तरिक आय वृद्धि, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना, विपद् स्वयंसेवक छनोट र क्षमता विकास, साथै अन्तर्राष्ट्रियस्तरको नगर सूचना केन्द्र सञ्चालनमार्फत विपद् व्यवस्थापनलाई नमूना बनाएको छ।

सैद्धान्तिक होइन, व्यवहारिक अनुभव
संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि यसको प्रभाव सर्वसाधारणले कसरी अनुभव गर्ने भन्ने प्रश्न उठ्दै आएको छ। यसबारे सैद्धान्तिक व्याख्या धेरै भए पनि, नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने काम नै यसको प्रमाण हो। तिलोत्तमा लगायतका उत्कृष्ट स्थानीय तहहरूले यही प्रमाणित गरिरहेका छन्।

कसरी मूल्याङ्कन हुन्छ ?
 मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय–आर्थिक व्यवस्थापन, सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक समावेशीकरण, वातावरण र विपद् व्यवस्थापन तथा सहकार्य–समन्वय गरी ९ सूचकका आधारमा मूल्याङ्कन गर्दै पुरस्कृत गर्दै आएको छ।

यही आधारमा तिलोत्तमाले समग्र स्थितिमा ९८.८१ प्रतिशत, प्रक्रियागत स्थितिमा शतप्रतिशत र परिमाणात्मक स्थितिमा ९४.४४ प्रतिशत अंक प्राप्त गरेको छ।

अन्य पालिकाका लागि उदाहरणीय अभ्यास
तिलोत्तमासहित देशभर उत्कृष्ट ठहरिएका ६ स्थानीय तहहरूलाई अब नमूना पालिका मानिँदैछ। उनीहरूले सेवा प्रवाहलाई नागरिकमैत्री बनाएर संघीयताको उज्यालो स्थानीयस्तरमा ल्याउने काम गरिरहेका छन्।

 नागरिकलाई प्रत्यक्ष सुविधा दिने अभ्यासका कारण तिलोत्तमाको अनुभव अब अन्य पालिकाका लागि पनि उदाहरणीय बन्नसक्ने देखिन्छ।