काठमाडौं भाद्र ८  – नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआन आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहने भएकी छन्। उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षबीचको छलफलमा नेपाल–भियतनाम सम्बन्ध सुदृढ पार्ने, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, तथा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। यसै क्रममा, नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव समारोहमा पनि उनले सहभागी हुनेछन्।

उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा शनिबार नेपाल आएकी सुआनले आगमनकै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेकी थिइन्। सो अवसरमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान संचालन गर्ने प्रस्ताव राखेकी थिइन्। यस प्रस्तावबारे आज हुने उच्चस्तरीय भेटमा थप छलफल हुने संकेत गरिएको छ। नेपाललाई विश्वास छ, सीधा हवाई सम्पर्क स्थापित भए भियतनामी पर्यटक संख्या उल्लेख्य रूपमा बढ्नेछ।

यसअघि भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ। सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने, साथै पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूपलगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ।

 भ्रमण पूरा गरी उनले सोमबारै स्वदेश फर्किनेछिन्।

 यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास कूटनीतिक वृत्तले व्यक्त गरेको छ।