काठमाडौं, भाद्र ९ –उखु किसानले सरकारको अनुदान कटौती गर्ने निर्णयविरुद्ध काठमाडौंमा पुनः प्रदर्शन गरेका छन् । 

माइतीघर मण्डलामा भेला भएका किसानहरूले “किसानमाथि अन्याय बन्द गर”, “७० रुपैयाँकै अनुदान कायम गर” भन्ने नारासहित विरोध जनाएका हुन् ।

सरकारले बजेट अभाव देखाउँदै प्रतिक्विन्टल ७० रुपैयाँ दिँदै आएको अनुदानलाई आधा घटाएर ३५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि किसान आन्दोलित भएका हुन् ।

प्रदर्शनमा सहभागी किसानहरूको भनाइमा उत्पादन लागत बढ्दो अवस्थामा अनुदान घटाउनु किसानमाथिको प्रहार हो । उनीहरूले सरकारको निर्णय फिर्ता गर्न माग गर्दै बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन पनि चेतावनी दिएका छन् 

किसान सङ्घ–संगठनहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै सरकार गम्भीर नभए चिनी मिल अवरोधदेखि काठमाडौंकेन्द्रित कडा विरोध कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

सरकारका तर्फबाट भने राजस्व संकलनमा आएको कमी र बजेट अभावकै कारण अनुदान कटौती गरिएको स्पष्टीकरण दिइएको छ । तर किसानहरूले यो बहानाले आफ्नो अधिकार कटौती गर्न नसकिने भन्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

अब किसान आन्दोलन सरकारसँगको वार्ता वा थप चर्को आन्दोलनतर्फ अघि बढ्ने संकेत देखिएको छ ।