हरितालिका तीज व्रत कथा : शिव–पार्वतीको दिव्य मिलनको स्मरण
२०८२ भाद्र १०, मंगलवार ०७:५२
काठमाडौं भाद्र १० । हरितालिका तीज आज देशभर श्रद्धा र भक्ति सहित मनाइँदैछ। यो पर्व विशेष गरी अविवाहित महिलाले मनपर्ने वर पाउने र विवाहित महिलाले आफ्नो पति र परिवारको दीर्घायु, सुख–समृद्धिको कामना गर्दै उपवास बस्ने परम्परा रहेको छ।
पौराणिक कथाअनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्ने तीव्र इच्छा राख्दै कठोर तपस्या प्रारम्भ गरेकी थिइन्। तर उनका पिता हिमालयले पार्वतीलाई भगवान विष्णुसँग विवाह गराउन चाहेका थिए। यसबारे थाहा पाएपछि पार्वती आफ्ना सखीहरूको सहयोगमा गहिरो वनमा पलायन भइन्।
वनमा पुगेपछि उनले कठोर उपवास र निरन्तर शिवजीको ध्यान आरम्भ गरिन्। पार्वतीको अटुट भक्ति, तपस्या र दृढ संकल्पले प्रसन्न भई भगवान शिव प्रकट भएका थिए। शिवले पार्वतीलाई आशीर्वाद दिँदै आफ्नो अर्धाङ्गिनी बनाउने वचन दिनुभयो।
यही प्रसङ्गलाई सम्झँदै प्रत्येक वर्ष हरितालिका तीजमा महिलाले उपवास, पूजा र नृत्य–भजनमार्फत शिव–पार्वतीको दिव्य मिलनको स्मरण गर्ने गर्दछन्। धार्मिक विद्वान्हरूका अनुसार यस पर्वले दाम्पत्य जीवनमा स्थायित्व र पारिवारिक समृद्धिको कामना गर्ने गहिरो सन्देश बोकेको छ।




