काठमाडौं भाद्र  १० । प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपाने अब राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने भएका छन् ।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति बनाउने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

समितिको सभापति पद कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त बनेको थियो । संघीय निजामति सेवा विधेयक, २०८० मा समितिले सर्वसम्मत रूपमा गरेको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था परिवर्तन भएपछि खतिवडाले असन्तुष्टि जनाउँदै पद त्यागेका थिए ।

सोही रिक्त पदमा कांग्रेसले सांसद न्यौपानेलाई पठाउने अन्तिम निर्णय गरेको हो । अब प्रतिनिधिसभाको प्रक्रियामार्फत उनले औपचारिक रूपमा समितिको नेतृत्व सम्हाल्नेछन् ।