उखु किसानको माग तत्काल पूरा गर्नुपर्छ : डा. शेखर कोइराला
२०८२ भाद्र १०, मंगलवार १६:१४
काठमाडौं भाद्र १० – आन्दोलनरत उखु किसानको पक्षमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले कृषकका मागलाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गरे। “कृषिलाई प्राथमिकतामा राख्छौँ भन्ने कुरा किताबका पानामा र भाषणका मंचमा मात्रै सीमित भएको देखिन्छ,” भन्दै उनले उखु किसान सडकमा आउनु अत्यन्तै पीडादायी अवस्था भएको उल्लेख गरे।
उनका अनुसार खेती गर्ने समयमा किसानले मल पाउन सक्दैनन्, कहिले मलको लागि लाइनमा ठेलमठेल गर्नुपर्ने, कहिले उत्पादन गरेको दूध सडकमै फाल्नुपर्ने र देशकै प्रमुख नगदे बाली उखुको किसान वर्षौंदेखि भुक्तानी नपाएर संघर्ष गर्नुपर्ने अवस्था छ। यसैबीच सरकारले अनुदानसमेत कटौती गर्नु, कोइरालाका शब्दमा, “खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यलाई थप टाढा धकेल्ने काम” हो।
कोइरालाले किसानका जायज मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्दै कृषिलाई व्यवहारमै प्राथमिकता दिनुपर्नेमा बल दिएका छन्।




