भक्तपुरमा गणेश जन्मोत्सव धूमधामसहित
२०८२ भाद्र ११, बुधबार १२:४२
भक्तपुर भाद्र११,भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवको अवसरमा भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ।
सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयवासीले बिहानै मूल गणेशको पूजा आराधना गरी चाँदीको मूर्तिलाई खटमा राखेर रथयात्रा आरम्भ गरेका हुन्। दिनभर विभिन्न टोलको परिक्रमा गराइएको रथलाई साँझ पुनः मन्दिरमा ल्याएर पूजा–आरती गरी विसर्जन गर्ने परम्परा रहिआएको छ।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बस्नेतका अनुसार पुर्खाले मनाउँदै आएको यो गणेश रथयात्रा आर्थिक अभावका कारण वर्षौँ रोकिएको थियो।
तर तीन वर्षअघि पुनः सुरु गरिएको यो जात्रा यसपटक हजारौँ भक्तजनको सहभागितामा झनै भव्य बनेको छ।
‘हामीले पुर्खादेखि चलिआएको संस्कारलाई निरन्तरता दिएका छौँ,’ वडाध्यक्ष बस्नेतले भने, ‘स्थानीयको सक्रियताका कारण जात्रा पुनः जीवित भएको छ र यसपटक टोलटोलमा रथ पुर्याउँदै सिन्दुर खेलेर हर्षोल्लासपूर्वक सम्पन्न भइरहेको छ।’
रथारोहणपछि गणेशको चाँदीको मूर्तिलाई सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँस्थित गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक हुँदै अरनिको राजमार्गसम्म घुमाइ पुनः मन्दिरमा ल्याइन्छ।
स्थान–स्थानमा स्थानीयले रथ स्वागत गरी फूलमाला र सिन्दुर अर्पण गरेका थिए। भक्तजनले भने यो जात्रा धार्मिक आस्था मात्र नभई स्थानीय एकता, परम्परा र सांस्कृतिक पहिचानको प्रतीक बनेको बताएका छन्।




